काठमाडौं । अमेरिकी लगानी फर्म रेडबर्ड क्यापिटल पार्टनर्सले इटालियन च्याम्पियन एसी मिलान किन्न १.२ बिलियन यूरोको सम्झौता गरेको छ ।
मिलानले बुधबार विज्ञप्ति निकाल्दै रेडबर्डसँग सम्झौता भएको जनाएको छ । नयाँ स्वामित्व समरपछि आधिकारिक हुनेछ । सेप्टेम्बर भन्दापछि सम्झौता पूर्ण रुपमा लागु हुने अपेक्षा गरिएको क्लबको विज्ञप्तिमा उल्लेख छ ।
'हामी एसी मिलानको गौरवशाली इतिहासको एक हिस्सा हुन पाउँदा सम्मानित छौं र क्लबको नयाँ अध्यायमा सहभागी हुन पाउँदा उत्साहित छौं किनभने एसी मिलान इटालियन, युरोपेली र विश्व फुटबलको शिर्ष स्थानमा फर्किएको छ,' रेडबर्डका संस्थापक र प्रबन्धक गेरी कार्डिनेलले एक विज्ञप्तिमा भनेका छन् ।

रेडबर्ड पहिलेनै फेनवे स्पोर्ट्स ग्रुपमा लगानीकर्ता रहिसकेको छ । यो ग्रुपको लगानी प्रिमियर लिग क्लब लिभरपुल र बोस्टन रेड सोक्स बेसबल टिममा पनि छ । रेडबर्डको फ्रान्सेली फुटबल क्लब टुलुजमा पनि रहेको छ।
'रेडबर्डको लगानी सिद्धान्त र टोलीको स्वामित्वमा ट्र्याक रेकर्डले देखाएको छ कि फुटबल क्लबहरू पिचमा सफल र दिगो हुन सक्छन्,' कार्डिनेलले थपे।
यद्दपी हालका मालिक इलियटले पनि मिलानमा थोरै लगानी भने कायम राख्नेछन्।
यस सिजन मिलानले सहरी प्रतिद्वन्दी इन्टर मिलानसँगको रोमाञ्चक प्रतिष्पर्धा गर्दै अन्तिम दिन ११ वर्षपछि पहिलो पटक इटालियन सिरी ए लिगको उपाधि जितेको थियो ।