इंग्लिस क्रिकेटमा नयाँ अध्याय सुरु हुँदै
काठमाडौं । इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको टेस्ट सिरिजको पहिलो खेल बिहीबार सुरु हुँदैछ, त्यो पनि क्रिकेटको घर लर्डसमा । यो खेलसँगै इंग्लिस क्रिकेटमा एउटा नयाँ अध्याय पनि सुरु हुनेछ र त्यो हो, कप्तानमा बेन स्टोक्स र प्रशिक्षकमा ब्रेन्डन म्याककलमको आगमन । म्याककलम स्वंय न्युजिल्यान्डका हुन् र उनको पहिलो खेल नै आफ्नो देशविरुद्ध रहेको छ । यो अर्को संयोग रह्यो । धेरै लामो समयपछि इंग्ल्यान्डका लागि कप्तान र प्रशिक्षकले सँगै पहिलो खेलमा सहभागिता जनाउने छन् ।
तर नराइलो के भने लर्डसमा हुने यस टेस्टका पाँच दिनमध्ये अहिलेसम्म कुनै पनि दिनको सबै टिकट विक्री भएको छैन्, नत्र इंग्ल्यान्ड त्यस्तो देश हो, जहाँ टेस्ट क्रिकेट असाध्यै लोकप्रिय छ र कम्तीमा पहिलो दिनको खेल हेर्न दर्शक भरिभराउ हुने गर्छन् । तर यसपल्ट पूरा टिकट नै विक्री नभएर समस्या भइरहेको छ । कतै यो इंग्ल्यान्डमै टेस्ट क्रिकेटको लोकप्रियता कम हुन थालेको त होइन ? यसको उत्तर खोज्ने काम वास्तवमै जटिल छ र स्थिति यस्तै छ भनेर ठोकुवा गर्न सकिने अवस्था पनि छैन् ।
यसको एउटा उत्तर के हुन सक्छ भने इंग्ल्यान्डमा टेस्ट क्रिकेटको लोकप्रियता घटेको होइन्, बरू इंग्लिस टिमको आफ्नै प्रदर्शन खस्केको छ, त्यसैले दर्शक इंग्लिस क्रिकेट समर्थकलाई आफ्नै देश खेलेको टेस्ट क्रिकेट हेर्न रूचि कम भएको छ । यो तथ्यमा इंग्लिस बलर स्टुवार्ट ब्रोड पनि सहमत छन् र मान्छन्, इंग्ल्यान्डले दर्शकले रूचाउने टेस्ट क्रिकेट खेल्न आवश्यक छ । जित हार आफ्नो ठाउँमा छ, तर कम्तीमा क्रिकेट हेर्दाको मज्जा त हुनु पर्यो । राम्रो क्रिकेट खेल्यो भने ढिलो चाँडो जित त निस्कन्छ नै ।
ब्रोडले भनेको छन्, ‘हामीले दर्शकलाई आकर्षिक गर्ने हो भने त्यसै सुहाउँदो क्रिकेट खेल्नु पर्ने हुन्छ । क्रिकेटमा जित हारको महत्त्व आफ्नै ठाउँमा होला, तर खेल्ने शैलीले पनि उत्तिकै महत्त्व राख्छ । मलाई विश्वास छ, अब इंग्ल्यान्डले त्यस्तै क्रिकेट खेल्नेछ र यसको कारण हो, टिममा स्टोक्स र म्याककलनले पाएको नयाँ भुमिका । उनीहरू दुई जनाको आगमनले म आफै पनि उत्साहित छुं र मलाई विश्वास छ, उनीहरूको नेतृत्वमा इंग्ल्यान्डले खेल्ने भनेकै दर्शकलाई लोभ्याउने खालको हुनेछ ।’
प्रश्न त के पनि छ भने म्याककलमले इंग्लिस क्रिकेटका के कस्तो परितर्वन ल्याउन सक्ने छ त ? सबैभन्दा पहिले हामी एकपल्ट सन् २०१५ को वान डे विश्वकपको फाइनलमा फर्कौ न । त्यो फाइनल पनि लर्डसमै भएको थियो र खेल भएको थियो, इंग्ल्यान्ड र न्युजिल्यान्डबीच । इंग्ल्यान्ड खुबै रोमाञ्चक ढंगले त्यसमा विजयी रहेको थियो । त्यति बेला न्युजिल्यान्ड टिमका कप्तान थिए, यिनै म्याककलम । त्यो फाइनल पछि इंग्लिस क्रिकेट एकाएक खुबै लोकप्रिय भएको थियो र यसको कारण थियो, त्यही दर्शकलाई मन पर्ने क्रिकेट ।
अहिले यिनै म्याककलम इंग्लिस टिमका प्रशिक्षक भएका छन् र उनलाई फेरि यसलाई यस्तै लोकप्रिय बनाउनु पर्ने जिम्मेवारी आइपरेको छ । अझ यसपल्ट उनलाई यही कामका लागि इंग्लिस क्रिकेटले पारिश्रमिक पनि दिनेछ । गाह्रो कहाँनिर छ भन्दा इंग्लिस क्रिकेट अहिले खराव स्थितिमा छ, विशेषत: टेस्ट क्रिकेटमा । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट सिरिजमा निकै खराव खेल्यो । अनि इंग्ल्यान्ड पछिल्ला १७ टेस्टमध्ये खालि एकै खेलमा मात्र विजयी रहेको छ, यो त साह्रै खराव प्रदर्शन रहेको छ ।
म्याककलमको काम यही स्थितिबाट इंग्ल्यान्डलाई उकासेर फेरि पनि जितको बाटोमा ल्याउने हो र यसका लागि उनीमाथि इंग्ल्यान्डलाई आकर्षक क्रिकेट खेल्न पनि बाध्य पार्नुछ । त्यसो त आफू खेलाडी छँदा म्याककलम बहादुरीपूर्ण निर्णय लिन माहिर थिए र यसमा पर्याप्त जोखिम पनि हुने गथ्र्यो । उनको ब्याटिङ पनि आफैमा आक्रमक हुने गथ्र्यो । उनी टुकुटुकु खेल्न रूचाउने ब्याट्सम्यान पनि थिएनन् । विश्वास गरौं, उनी आएपछि इंग्लिस क्रिकेटमा फेरि सुधार हुनेछ र फेरि एकपल्ट दर्शकदीर्घा क्रिकेट समर्थकले भरिनेछ ।
–बीबीसीको सहयोगमा ।








-1762758084543.jpg&w=3840&q=75)






