काठमाडौं । पाहुना टोली जिम्बावे 'ए' ले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितको लागि २ सय १४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो । मैदानमा पानी जमेकाले ढिला सुरुहुँदा खेल ३३ ओभरमा झारिएको छ ।
जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए ।
कप्तान टोनी मुन्योगाले २४, सेफासले १६ तथा इनोसेन्ट कियाले १२ रन बनाए । लुक जोग्वी १९ रनमा आउट भए ।
नेपालका किशोर महतोले ५ विकेट लिए ।
सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ ।
तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ ।
पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।