काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेको छ ।
ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।