धनगढी । विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् ।
आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काइन् ।
खेलको २३ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । ३४ औं मिनेटमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाईन् ।
खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफको अग्रता तेब्बर बनाईन् । खेलको ८७ औं मिनेटमा आर्मीका सपनाले गोल गर्दै अग्रता घटाईन् । त्यसपछि इन्जुरी समयमा आर्मीका लागि हेमाले गोल गरेपनि एपीएफ ३-२ ले विजयी भयो ।
एपीएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् ।
वनदेवी युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।