काठमाडौं । इंग्लिस प्रिमियर लिगमा मंगलबार राति म्यानचेस्टर युनाइटेड लिभरपुलको हातबाट पराजित रह्यो । खेलको स्कोर थियो, ४–० ।
यो नतिजाले जहाँ लिभरपुललाई माया गर्ने जत्तिलाई अपार खुसी दिएको छ, त्यहीं म्यानचेस्टर समर्थक भने निराश छन् । रमाइलो के भने म्यानचेस्टरको त्यो खेललाई लिएर सबैभन्दा बढी आलोचना गर्नेमा पर्छन्, उसकै पुराना खेलाडी ।
जस्तो, सबैभन्दा पहिले ग्यारी नेभिल । उनी भन्छन्, ‘मैले म्यानचेस्टरका खेल हेरिरहेको पनि ४२ वर्ष भयो । इमान्दारितापूर्वक भन्दा अहिले म्यानचेस्टरले जसरी खेलिरहेको, त्यत्तिको खराब प्रदर्शन कहिले पनि देखेको थिइनं । टिमको प्रदर्शन दिनदिनै खस्कदैछ ।’ उनकै शब्दमा लिभरपुलले राम्रो खेलिरहेको छ, जुन म्यानचेस्टर समर्थकका लागि पीडा पनि हो ।

उनकै समयका कप्तान रोय किन पनि के कम र ? उनी त अझ छुच्चो मुखका छन् । उनी भन्छन्, ‘केही समय अगाडिसम्म मलाई म्यानचेस्टर युनाइटेडको खेल हेर्ने बित्तिकै रिस उठ्यो, तर अहिले यो फेरिएको छ । अचेल म्यानचेस्टरको खेल हेर्दा मलाई दुःख लाग्छ, रिस पनि उठ्न छाडिसक्यो, खालि निराशा मात्र छ ।’
निकै कडा शब्द भएनन् र यी ? स्वंय प्रशिक्षक राल्फ राङ्गनिक के भन्छन् त ? उनको छोटो प्रतिक्रिया हो, ‘लिभरपुलविरुद्ध हाम्रो प्रदर्शन लाजमर्दो, निराशाजनक र बेइज्जति हुने खालको रह्यो ।’ उनी त म्यानचेस्टरका एक वर्षे प्रशिक्षक हुन्, अब क्लबमा जसले यो व्यवस्थापनको जिम्मेवारी हेर्नेछ, उनीमाथि चुनौतीको पहाड हुने निश्चित छ ।

–डेली मेलको सहयोगमा ।