काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज मंगलबार राति निकै महत्त्वको खेल हुँदैछ, जसमा लिभरपुलको एनफिल्डमा खेल्दै आउँदैछ, म्यानचेस्टर युनाइटेड । जति बेला यी दुई क्लबबीच खेल हुन्छ, त्यो विशेष हुन्छ, कसको के स्थिति त्यसले धेरै अर्थ राख्दैन् । जस्तो लिभरपुल अहिले एकै सिजन चार उपाधि जित्न सक्ने स्थितिमा छ ।
त्यहीं म्यानचेस्टरको सबैभन्दा ठूलो लक्ष्य भनेकै लिगको शीर्ष चारमा स्थान बनाउनु हो । तर पनि यो खेल मज्जाको हुनेछ, यसमा शंका नगरे हुन्छ । यसको ठीक अगाडि म्यानचेस्टरका प्रशिक्षक राल्फ राङ्गनिकले मीठो न मीठो ‘माइन्ड गेम’ खेलेका छन् । उनलाई पनि राम्रोसँग थाहा छ, लिभरपुललाई कहाँनिर घोच्दा धेरै दुख्छ भनेर ।
राङ्गनिकले भनेका छन्, ‘लिभरपुलले दोहराएर लिग उपाधि जित्न ३० वर्ष लाग्यो, म्यानचेस्टरले फेरि लिग जित्न यति समय लगाउने छैन् ।’ सन् १९९० मा लिग जितेयता तीन दशकको अन्तरपछि लिभरपुलले सन् २०२० मा फेरि लिग जितेको थियो । म्यानचेस्टर आफैले भने सन् २०१३ यता लिग जितेको छैन्, त्यो भनेको नौ वर्ष जति भइसकेको छ ।
उनी भन्छन्, ‘म्यानचेस्टरले पक्कै पनि फेरि लिग जित्न ३० वर्ष लगाउने छैन्, खालि आवश्यकता हो, टिममा सुधार ।’ उनी म्यानचेस्टरले खेलाडी किनबेचमा ठीक प्रक्रिया अपनाउनु पर्ने पनि मान्छन् । फेरि यिनै दुई टिमको खेलमा फर्कने हो भने ओल्ड ट्रायफोर्डमा भएको सिजनको पहिलो खेलमा लिभरपुल ५–० ले विजयी रहेको थियो ।
त्यो अर्थमा घरमा खेलिरहेको लिभरपुल जितका लागि भने बलियो प्रत्यासी रहेको छ ।
–बीबीसीको सहयोगमा ।