काठमाडौं । अन्ततः वायन रोनीको नेतृत्वमा रहेको डर्बी काउन्टी रेलिगेसनमा परेको छ । इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिपबाट झरेपछि अब आर्थिक समस्यबाट गुज्रिरहेको डर्बीले तेस्रो डिभिजन लिग वानमा खेल्नेछ । सन् १९८६ यता डर्बीले पहिलो पल्ट तेस्रो डिभिजनमा खेल्नेछ र रोनी भने व्यवस्थापकका रूपमा क्लबमै कायम रहने छन्।
सोमबारको खेलमा क्विन्स पार्क रेन्जर्सविरुद्धको खेल गुमाएपछि डर्बी तल झर्ने निश्चित भएको हो । खेल लगतै रोनीले क्लबका पूर्व मालिक मेल मोरिसलाई तनावले निद्रा नलागोस भनेर प्रतिक्रिया दिएका छन् । अहिले तत्काल भने डर्बी ‘एडमिनिस्ट्रेसन’ मा रहेको छ । मोरिसले क्लब आर्थिक संकटमा पारेर छाडेका हुन् ।
रोनीले भनेका छन्, ‘डर्बी रेलिगेसनमा परेपछि मोरिसको मनमा पक्कै कुरा खेल्नेछ र यसले निन्द्रा लाग्ने छैन् । उनले नै क्लबलाई यो खराब स्थितिमा पुर्याएका हुन् ।’ ‘एडमिनिस्ट्रेसन’ मा गएपछि डर्बीको १२ अंक खोसिएको थियो र यसक्रममा ऋणात्मक दुई अंकको स्थितिमा पुगेको थियो । पछि उसको थप नौ अंक पनि खोसिएको थियो, समग्रमा २१ अंक ।
इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका लागि सर्वाधिक गोलकर्ता रहेका रोनीले आफ्नो खेल जीवन डर्बीमा टुंग्याएर त्यसको व्यवस्थापन हेर्न सुरु गरेका थिए । गत सिजन डर्बीलाई रेलिगेसनबाट बचाए पनि यसपल्ट सफल रहेनन् । उनी लिग वान खेल्दा पनि क्लबमै रहनेछन् र टिमलाई माथि उकास्ने विश्वास पोखेका छन् ।
–बीबीसीको सहयोगमा ।