काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको समस्याका लागि समाधान हुन् कि उल्टै समस्या ? अचेल ओल्ड ट्रयफोर्ड वरीपरी घुम्न जानु पर्छ, यस प्रश्नका अनेक उत्तर सुन्न पाइन्छ । यिनै रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा नरविचविरुद्ध ह्याट्रिक गरे । त्यसमध्ये एक गोल उनको विशिष्ट पाराको हेडबाट थियो भने अर्को २० यार्डको फ्रि किकबाट ।

उनकै त्यस प्रदर्शनका मदतले त हो, म्यानचेस्टर विजयी भएको । यो प्रदर्शनपछि प्रिमियर लिगमा यी पोर्चुगाली खेलाडीको गोल संख्या ९९ पुगेको छ र उनले यस सिजन मात्रै १५ गोल गरिसकेका छन् । त्यसको अर्थ उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको तेस्रो स्थानमा छन् । यस्तोमा कसरी भन्न सकिन्छ र, रोनाल्डो म्यानचेस्टरका लागि समस्या हुन भनेर ?
लगातार १६ औं सिजन सबै खाले प्रतियोगितामा रोनाल्डोले आफू खेलेको क्लबका लागि २० अथवा त्यो भन्दा बढी गोल गरेका छन् । अनि व्यक्तिगत कुरा गर्दा पनि रोनाल्डोको यो ६० औं ह्याट्रिक थियो । अझ रमाइलो त के छ भने रोनाल्डोले म्यानचेस्टरका अन्य कोही खेलाडीले भन्दा १२ बढी गोल गरेका छन् ।

फेरि प्रश्न दोहराउने प्रयास गरौं न, के यी ३७ वर्षीय खेलाडी वास्तवमै म्यानचेस्टरका लागि समस्या हुन् कि समाधान ? सायद तथ्यांकले भन्छ, म्यानचेस्टरलाई रोनाल्डोको महत्त्व उत्तिकै छ, अझ सके बढी । रोनाल्डोले आफूलाई सुम्पिएको काम मज्जाले गरिरहेका छन्, त्यसैले म्यानचेस्टर उनीप्रति कृतज्ञ हुनु पर्छ । धेरै आलोचना गर्न छाड्नु पर्छ ।
–बीबीसीको सहयोगमा ।