राष्ट्रिय टोलीमा पुनरागमन गर्ने योजनामा नवयुग

काठमाडौं । फरवार्ड नवयुग श्रेष्ठले सहिद स्मारक ए डिभिजन लिग अघि चोट बोक्न पुगे । ब्रिगेड ब्वाइजविरुद्धको मैत्रीपूर्ण खेलमा उनले घुँडाको चोट बोकेका थिए ।
चोटकै कारण नवयुगले 'ए' डिभिजन लिग गुमाए । राष्ट्रिय टोलीबाट समेत बाहिर रहे ।
घुँडाको शल्यक्रियापछि चोट मुक्त हुँदै उनी मैदान फर्किसकेका छन् । आर्मीका लागि उनले केहि गोल्डकप खेलिसकेका छन् ।
चोटपछि नवयुग पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका छन् । एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा बोलाइएको २५ खेलाडीमा उनी अटाएका छन् ।
नवयुग यो अवसरलाई खेर फाल्ने योजनामा छैनन् । राम्रो प्रदर्शन गर्दै उनी राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सोचमा छन्।
'मलाई एकदम खुशी लागेको छ । इन्जुरीपछि फेरि टिममा ट्रेनिङ गर्न पाउँदा । मलाई पहिलाको लयमा आउनु छ र प्रमाणित गर्नुछ,' प्रशिक्षणको दौरान संचारकर्मीसँग कुरा गर्दै नवयुगले भने, 'ट्रेनिङमा छु अब राम्रो गरेर राष्ट्रिय टिमबाट फेरि खेल्ने आशामा छु । हेरौ कस्तो हुन्छ ।'

नवयुगले साफ च्याम्पियनसिपपछि राष्ट्रिय टोलीका लागि खेलेका छैनन् । एसियन कप छनोटबाट भने उनी पुनरागमनको योजनामा छन् ।
'खेलाडीका लागि घुँडाको इन्जुरी ठुलै इन्जुरी हो । कमब्याक गर्न गार्हो पनि हुन्छ । मैले रिहाब र अभ्यास गरेर फेरि राष्ट्रिय टिममा कमब्याक गर्न कोशिश गरिरहेको छु,' उनले थपे, 'एसियन कप छनोटका लागि तयारी गरिरहेका छौँ । त्यहिँ अनुसार मेहेनत गर्ने हो ।'
कुवेतमा आयोजना हुने छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । यस समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।







-1775795080923.webp&w=3840&q=75)





