काठमाडौं । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले च्याम्पियन्स लिगबाट बाहिरिदा कुनैपनि पछुतो नरहेको बताएका छन् ।
क्वाटरफाइनल अन्तर्गत दोस्रो लेगमा रियललाई ३-२ गोल अन्तरले हराएपनि समग्रमा ५-४ ले पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको थियो ।
चेल्सी च्याम्पियन्स लिगको साविक विजेता समेत हो ।
'यो पराजय हामीले पचाउन सक्ने किसिमका छन् । किनकि हामीले त्यहाँ पछुताउनका लागि केहि छाडेनौं,' खेलपछि टुचेलले भने, 'हामीले टोलीको गुणस्तर र चरित्र देखायौं त्यसैले पछुताउनु पर्ने केहि छैन।'

रोमान्चक खेलको ८० मिनेटसम्म चेल्सी ३-० ले अघि रहेको थियो । तर, त्यसलाई जोगाउन नसक्दा चेल्सीले च्याम्पियन्स लिगको यात्रामा पूर्णविराम लगाउनु परेको हो ।
प्रशिक्षक टुचेलले टोलीलाई भाग्यले साथ नदिएको समेत बताए ।
'यो हुनुको मतलब हामी अभागी थियौं,' टुचेलले थपे ।