काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान तथा मिडफिल्डर फर्नान्डिन्होले क्लब छाड्ने भएका छन् ।
ब्राजिलियन मिडफिल्डरले यस सिजनको अन्त्यसँगै सिटी छाड्ने भएका हुन् ।
३६ वर्षीय फर्नान्डिन्होले ९ वर्ष सिटीमा बिताईसकेका छन् ।
आगामी सिजन इतिहाद स्टेडियममा देख्न सकिन्छ भनेर पत्रकारको प्रश्नमा उनले भने, 'पक्कै पनि म नियमित रूपमा खेल्न चाहन्छु । म ब्राजिल फर्कनेछु । मैले मेरो परिवारलाई रोजे । जुन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ।'
फर्नान्डिन्होले गत जुनमा सिटीसँग एक वर्षको नयाँ सम्झौता गरेका थिए ।
फर्नान्डिन्हो सन् २०१३ मा शाख्तर डोनेस्कबाट सिटी आएका थिए । उनले सिटीका लागि चार प्रिमियर लिग, एक एफए कप र ईएफएल कप जितेका छन् ।
फर्नान्डिन्होले यस सिजन क्लबका लागि २३ खेल खेलेका छन् । तर, प्रिमियर लिगमा मात्र ६ खेलमा सुरुआती ११ मा खेलेका छन् ।
