काठमाडौं । नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले आफ्नो क्यान्सरको उपचार सफल भएको बताएका छन् ।
म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक भान गालले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेका थिए ।
डच न्युज एजेन्सीसँग कुरा गर्दै भान गालले २५ रेडिएसन उपचार सफल भएको बताए ।
'मैले सबै कुरा भोगेको छु,' भान गालले भने, 'मैले २५ रेडिएसन उपचार गरेको छु । त्यसपछि मैले आफ्नो काम गरेको छ कि भनेर हेर्न ५/६ महिना कुर्नुपर्यो र यसले काम गर्यो ।'
भान गालको नेतृत्वमा नेदरल्यान्ड्सले कतार विश्वकपमा स्थान बनाईसकेको छ । तर उनले विश्वकपपछि डच टोली छाड्ने छन् ।
उनले युनाईटेड, बार्सिलोना, बायर्न म्युनिख र आयाक्स लगायतका क्लब हेरिसकेका छन् ।