काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईको सामना गर्दैछ ।
दुबईमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङमा पठाएको हो ।
युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल सिंह ऐरीले सुरुआती ११ मा खेल्ने मौका पाएका छन् ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।
युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २/२ पटक जित हात पारेका छन् ।
सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।
विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो ।
त्यसैले नेपाल टी-ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । तर, यूएईलाई पराजित गर्नु नेपाललाई सहज भने हुने छैन ।
यूएई पछिल्लो समय उत्कृष्ट लयमा छ । विपक्षी टोलीविरुद्ध उसका ब्याटरहरु खेलेर आक्रमण गर्दै आएका छन् ।
यूएईले पछिल्लो समय बलिया एसोसियट राष्ट्र मात्र नभएर टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत मात दिदै आएको छ ।
यता नेपाल भने ब्याटिङमा संघर्षरत छ । ब्याटिङमा संघर्षरत नेपाललाई यूएईविरुद्ध जित निकाल्नु फलामको चिउरा चपाउनु जस्तै हुनेछ ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ ।