काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले भोलि शुक्रबार यूएईको सामना गर्नेछ।
सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २/२ पटक जित हात पारेका छन् ।
सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।
विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो ।
त्यसैले नेपाल टी-ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । तर, यूएईलाई पराजित गर्नु नेपाललाई सहज भने हुने छैन । यूएई पछिल्लो समय उत्कृष्ट लयमा छ । विपक्षी टोलीविरुद्ध उसका ब्याटरहरु खेलेर आक्रमण गर्दै आएका छन् ।
यूएईले पछिल्लो समय बलिया एसोसियट राष्ट्र मात्र नभएर टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत मात दिदै आएको छ ।
यता नेपाल भने ब्याटिङमा संघर्षरत छ । ब्याटिङमा संघर्षरत नेपाललाई यूएईविरुद्ध जित निकाल्नु फलामको चिउरा चपाउनु जस्तै हुनेछ ।
मंगलबार भएको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा समेत नेपालले मध्यम लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरसम्म खेल्नु परेको थियो ।
नेपालले २ विकेटको जित निकाल्न ठुलो संघर्ष गरेको थियो । लक्ष्य पछ्याएको नेपालका मात्र ४ खेलाडीले दोहोरो अंक जोड्न सकेका थिए । कमजोर पीएनजीविरुद्ध रोहित कुमार पौडेल र आरिफ शेखको शतकीय साझेदारी तथा अन्तिममा करण केसीको आक्रामक ब्याटिङले नेपालको जित सम्भब भएको थियो ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ ।