झापा गोल्डकप : पाहुना टोलीमाथि झापाको गोल वर्षा

इलाम । पाहुना टोली सिक्किमको रेडपान्डा एफसीमाथि फराकिलो जित दर्ता गर्दै घरेलु टोली झापा–११ झापा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
डोमलाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोलीको चुनौती झापाले ५–१ गोल अन्तरले पन्छाएको हो ।
झापालाई जित दिलाउन विमल घर्ती मगर, कप्तान विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दिएको थियो । रेडपान्डाका योगेश मगरले सान्तवना गोल फर्काए ।

खेलको सुरुवातबाटै दबाब बनाएको घरेलु टोलीले ३१ औं मिनेटमा अग्रता बनायो । विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुमेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।
पहिलो हाफमा १–० गोल अन्तरको अग्रता बनाएको झापाले दोश्रो हाफमा ३ गोल गर्न सफल रहयो । ५५ औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरेपछि झापाले २–० को अग्रता बनायो ।
झापाका लागि तेस्रो गोल ५८ औं मिनेटमा कप्तान विशालले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्ड भएको बललाई पोस्टको दिशा दिए ।
६० औं मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए । ६६ औ मिनेट सिक्किमले सान्तवना गोल फर्कायो । उसका लागि ६६ औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे ।
झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । ७७ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे ।
सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए ।
मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औं मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औं मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो ।
खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । झापाको जितसंगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वाटरफाइनलको समीकरणका खेल पूरा भएका छन् ।
जितसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।













