खप्तड गोल्डकप : फाइनल पुग्न बागमती र फ्रेन्ड्स भिड्दै

धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ।
सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो । फ्रेन्ड्सलाई हराएर बागमती आफ्नो सनसनीपूर्ण यात्रा कायम राख्न चाहन्छ ।
फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।













