धनगढी । बागमती युथ क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ ।
धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।
अब बागमतीले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा बागमतीका अमन श्रेष्ठ, इमान घलान, ड्याडी वाम्बा जुनियर र अनिल रानाले गोल गरे ।
दिवस लिम्बुको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
मछिन्द्रका रंजित धिमाल र विमल घर्ति मगरले गोल गरे ।
विशाल राई र नुरेन करिमले बाहिर प्रहार गरे ।
आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।