इलाम । थ्री स्टार क्लब पहिलो पटक झापा गोल्डकपको सेमिफाइनल प्रवेश गर्नबाट बञ्चित भएको छ ।
पाँचौ संस्करणको प्रतियोगिताको क्वाटरफाइनल खेलमा संकटा क्लबसँग २-० ले पराजित भएसंगै थ्री स्टारको सेमिफाइनल खेल्ने सपना अधुरो रहेको हो ।
यसअघि सहभागिता जनाएको तीन वटा संस्करणमा थ्री स्टारले क्वाटरफाइनल चरण पार गरेको थियो ।
संकटा पहिलो पटक झापा गोल्डकप खेल्न आएको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे ।
खेलको २५ औं मिनेटमा फोफोनाको क्रस पासमा थ्री स्टारको डिफेन्डर र गोलरक्षक बिचको तालमेलको नमिलेको फाइदा उठाउँदै यानिकले सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा फोडे फोफोनाले अग्रता दोब्बर बनाए । खेलमा दुवै टोलीले केही राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न सकेनन् । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए ।
खेलको ३६ औं मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो । ४६ औं मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे ।
खेलको ७० औं मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औं मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।
मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।

त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।
बुधबारको क्वाटर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुुटबल क्लबबिच हुनेछ ।
आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।