काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।
उक्त खेल मार्च २७ मा हुनेछ ।
दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ।
नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।