काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि धनगढी एफसीले फागुन २५ गते ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।
धनगढीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै फागुन २५ गते ट्यालेन्ट हन्ट गरिने जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुने ट्यालेन्ट हन्टका लागि बिहान साढे ७ बजे उपस्थितिका लागि क्लबले अनुरोध समेत गरेको छ ।
ट्यालेन्ट हन्टमा धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राई र मार्की खेलाडी विशाल राईको उपस्थितिमा खेलाडीको प्रतिभा नियालिनेछ ।
उपस्थित खेलाडीहरुबाट एक जनाले धनगढी एफसीबाट नेपाल सुपर लिग खेल्न मौका पाउनेछन् । त्यसबाहेक उत्कृष्ट प्रतिभावान तीन जना खेलाडीहरुलाई सुदूरपश्चिमकै प्रतिष्ठान एसपीए क्याम्पसमा छात्रवृत्ति समेत प्रदान गरिनेछ ।