काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे ।
युनाईटेडका जाडोन सान्चोले एक गोल फर्काए ।
घरेलु मैदानमा पाँचौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २२ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो ।
खेलको ६८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४-१ को जित निकाल्यो ।

जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ ।
युनाईटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।