झापा । उत्तम राई निर्णायक बन्दा संकटा क्लब झापामा जारी पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटरफाइनल स्थान बनाएको हो ।
संकटाको जितमा उत्तमले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो । खेलको २४ औं मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औं मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।
५० औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औं मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो । त्यस्तै, १६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए ।
खेलको २२ औं मिनेटमा संकटाका उत्तमले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।
खेलमा प्लेयर अफ द म्याच संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन् ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ ।
प्रतियोगिता अन्तर्गत सोमबारको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ । एपिएफ सोझै क्वाटरफाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।