झापा । सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै सातदोबाटोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सातदोबाटोका आकाश बुढा मगर, प्रशान्त अवस्थी, मान बहादुर तामाङ अजयी मार्टिनले गोल गरे ।
जावलाखेलका सुरज ज्यु ठकुरी र ओन्गुना जुनियरले गोल गरे । तर, राजेन्द्र रावल र गौरव श्रेष्ठले गोल गर्न सकेनन् ।
पेनाल्टी अघि मार्टिनले तेस्रो मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।
तर, १२ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई १-१ को बराबरीमा ल्याए ।
खेलको ३४ औं मिनेटमा जुनियरले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए ।
तर, ४८ औं मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई २-२ को बराबरीमा ल्याएका थिए ।
खेलकाे म्यान अफ दि म्याच सातदोबाटोका गाेलरक्षक अभिषेक बराल घाेषित भए । उनले नगद ९ हजार ९ सय ९९ प्राप्त गरे ।
अब सातदोबाटोले क्वाटरफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा भाेली पहिलो क्वाटरफाइनलमा विभागिय टाेली नेपाल पुलिसले संकटा क्लबकाे सामना गर्दैछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।