विवादका बीच एनएसएलको अक्सन आज हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) आज शुक्रबार हुँदैछ ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले अक्सन बिहान १० बजे सुरु हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्सन रोक्न गरेको आग्रह बाबजुत एनएसएल अक्सन गर्न लागेको हो ।
एन्फाले बिहीबार आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको थियो ।
खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लबले विरोध गरेपछि एन्फाले अक्सन रोक्न आग्रह गरेको थियो ।
लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै विरोध जनाएको थियो ।
तर, नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत शुदिप शर्माले अक्सन नरोकिने बताए ।
शर्माले मिति तय भईसकेको अक्सन नरोकिने तर प्रतियोगिता अघिसम्म ए डिभिजन क्लबले खेलाडी रिलिज नगरेका खेलाडीलाई टिममा नराखिने बताए ।
'आज हामी अक्सनमा जान्छौं । किनभने खेलाडीले आजको भोलि खेल खेल्ने हैन । प्रतियोगिता अघिसम्म क्लबले रिलिज गरेका खेलाडीमात्र टिममा राख्ने छौँ । क्लबले अनुमति नदिएका खेलाडीले खेल्दैनन्,' उनले भने ।
एनएसएलले अक्सनका लागि २ सय ४२ खेलाडी सहभागी हुने जनाएको छ ।
अक्सनका लागि खेलाडीहरुलाई क्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ मा राखिएको छ ।
क्याटेगोरी ‘ए’ तर्फ ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ तर्फ समान १ सय १ खेलाडी रहेका छन् ।
अक्सनमा सहभागी १० टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् ।
‘ए’ क्याटेगोरीका खेलाडीको सुरुआती मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । यस क्याटेगोरीका खेलाडीले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।
'बी' क्याटेगोरीका खेलाडीको सुरुआती मूल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार रहेको छ ।
'सी' क्याटेगोरीका खेलाडीले ५० हजार देखि १ लाखसम्म पाउनेछन् ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)


-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)