काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को नयाँ टिम स्पोर्टिङ इलाम डी मेचीले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पहिलो पटक एनएसएल खेल्न लागेको इलामले मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए ।
हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निकाल्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा चौथों स्थान हात पारेको थियो ।
यस्तै इलामले मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको छ । तेजले च्याम्पियन टोली काठमाडौं रेजर्सबाट खेलेका थिए ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।