काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को खेलाडी किनबेच (अक्सन) रोक्न आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
एन्फाले बिहीबार आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले अक्सन रोक्न आग्रह गरिएको बताए ।
'हामीले अक्सन रोक्नका लागि आग्रह गरेका छौँ । पत्र पठाएका छौँ । मान्ने नमान्ने निर्णय उहाँहरुको हो,' तुलाधरले खेलपाटीसँग भने ।
दोस्रो संस्करणको एनएसएलका लागि अक्सन भोलि शुक्रबार हुने तालिका रहेको छ ।
तर, पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लबले विरोध जनाउदै आएका छन्।
लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले बुधबार प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।
विरोध जनाउने अन्य क्लबमा न्युरोट टिम एनआरटी, मनाङ मर्स्याङ्दी,सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।
महसचिव तुलाधरले एनएसएल र ए क्लबको विवाद देखिनुमा एन्फाको कमजोरी भएको समेत स्वीकार गरे ।
'यस विषयमा छलफल नहुनु एन्फाको कमजोरी छ । हामीले अब दुबै पक्षसँग छलफल गरिरहेका छौँ,' उनले थपे ।