धनगढी । गत साता सकिएको स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी पाँचौं स्थानमा रह्यो ।
लिग सकिएको पाँच दिनपछि मनाङले सर्वाधिक धनरासीको प्रतियोगिता पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल खेल्दैछ ।
धनगढी रंगशालामा बिहीबार भारतको दिल्ली एफसीसँग खेल्दै मनाङले खप्तड गोल्डकपको सुरुवात गर्नेछ ।
मनाङ लिगमा लागेको घाउलाई खप्तड गोल्डकपबाट मलम लगाउने योजनामा छ । तर, पहिलो खेलमा नै मनाङलाई दिल्लीको डर छ ।
कप्तान अन्जन विष्टले दिल्ली टिमबारे धेरै कुरा थाहाँ नभएकाले आफूहरुलाई असहज हुने बताउँछन् ।
‘दिल्ली एफसीको विषयमा धेरै जानकारी छैन् । त्यसैले उनीहरुसँगको प्रतिस्पर्धा हाम्रो लागी महत्वपूर्ण हुनेछ । लिग पछिको पहिलो खेल भएकाले हामीलाई जित्नै पर्ने दबाब पनि छ,’ अन्जनले खेल अघिको पत्रकार सम्मेलनमा भने ।
अन्जनले ए डिभिजन लिगमा भएको प्रदर्शनले गोल्डकपमा कुनै असर नपर्ने बताए । उनले अहिले टिममा खेलाडीहरुले पनि राम्रो तयारी गरि रहेको बताए ।
‘हामी अहिले राम्रो लयमा छौं । लिगमा भएको कमि कमजोरीलाई यहाँ दोहोरिन दिने छैनौं । खप्तड गोल्डकपको उपाधि हाम्रो लागि फुटबलमा बलियो भएर फकर्ने मौका पनि हुनेछ,’ अन्जनले भने ।
त्यस्तै टिमका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरुले दिल्लीलाई कम नआकेकाले सम्हालिएर खेल्ने बताए । दिल्ली टिमको बारेमा जानकारी लिन धेरै समय नभएकाले पनि असहज हुने उनले बताए ।
‘दिल्ली टिमको विषयमा धेरै जानकारी छैन । उनीहरुको खेल्ने तरिका, बलियो पक्ष र कमजोर पक्षलाई पनि नियाली सकेका छैनौं । उनीहरुविरुद्धको केही रणनिति बनाएका छैनौं । मात्र आफूहरुले उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएका छौं,’ तामाङले भने ।
भारतको दिल्ली एफसीले दिल्ली लिग जितेको थियो । त्यसैले दिल्ली मनाङलाई हराउँदै उपाधि होड बलियो बनाउने योजनामा छ ।
दिल्लीका मुख्य प्रशिक्षक अन्बर अली मनाङ राम्रो टिम भएकाले उनीहरुलाई पराजित गर्न सकेमा गोल्डकपको उपाधिमा होडमा सहज हुने बताउँछन् ।
‘मनाङ नेपाली फुटबलमा बलियो टोली हो । हामीले मनाङलाई हराउन सकेमा गोल्डकपको उपाधि होडमा हामी बलियो बन्ने छौं,’ अलीले भने ।
दिल्लीका कप्तान करण दीपले टिममा खेलाडीहरुको आत्मबल बलियो भएकाले नेपालबाट गोल्डकपको उपाधि जितेर जाने योजना भएको बताएका छन् ।
‘टिमका खेलाडीहरुमा सकरात्मक उर्जा छ । उपाधि जित्ने लक्ष्यका साथ हामी नेपाल आएका छौं,’ करणले भने ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।