काठमाडौं । खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लब र नेपाल सुपर लिग (एनएसएल) बीच विवाद देखिएको छ ।
फ्रेन्चाईच प्रतियोगिता एनएसएलको खेलाडी अक्सन नजिकिदै गर्दा खेलाडी अनुबन्धको विषयमा ए लिग र एनएसएलबीच विवाद उत्पन्न भएको छ ।
दोस्रो संस्करणको एनएसएलको अक्सन शुक्रबार हुँदैछ । तर, ए डिभिजन लिग खेलेका आठ क्लबले विरोध जनाएका छन् ।
लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले बुधबार प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विरोध जनाउने अन्य क्लबमा न्युरोट टिम एनआरटी, मनाङ मर्स्याङ्दी,सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।
यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले उचित सम्बोधन नगरी बेवास्ता गर्दै फुटबल विकासमा लगानी गर्दै आईरहेको क्लबमाथि कुठाराघात गरेको आठ क्लबले जनाएको छ ।
आठ क्लबले यस कार्यले नेपाली फुटबलमा गम्भीर असर पर्ने जानकारी गराउदै सरोकारवाला र एन्फालाई यस्ता कार्य नगर्न आग्रह गरेको छ ।
यस्तै आठ क्लबले ए डिभिजन क्लबसँग छलफल गरेर मात्र खेलाडी अक्सन गर्न अनुरोध गरेको छ ।
