काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उपाधि ट्रफी सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष सुरेश हमाल, दिपक बहादुर सिंह र दुर्गा अधिकारीले संयक्त उपाधि ट्रफी सार्वजनिक गरे ।
यस्तै कार्यक्रममा आयोजक टोली सुदुरपश्चिम–११ ले प्रयोग गर्ने जर्सी समेत सार्वजनिक गरिएको थियो ।
सर्वाधिक धनराशीको खप्तड गोल्डकप भोलि बिहीबारबाट सुरु हुँदैछ ।

धनगढी रंगशालामा हुने उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।