काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा बाँसबारी क्लबलाई ३-१ गोल अन्तरले हराएर सरस्वतीले सुखद सुरुआत गरेको हो ।
सुरुआती एक गोलको अग्रता उल्टाएर सरस्वतीले जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २१औं मिनेटमा बिक्रम विशंखेले गोल गर्दै सरस्वतीलाई १-१ को बराबरीमा ल्याए ।
खेलको ८७ औं मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३-१ को जित दिलाए ।
जितसँगै सरस्वतीले ३ अंक जोडेको छ ।
यस अघि पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर श्री भगवतीले सुखद सुरुआत गरिसकेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।