काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर श्री भगवतीले सुखद सुरुआत गरेको हो ।
श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरा र मिलन खड्काले एक एक गोल गरे ।
झम्सिखेलका मन कुमार राईले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा अनिलले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।
तर, ३७ औं मिनेटमा मन कुमारले गोल गर्दै झम्सिखेललाई १-१ को बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा रमेशले गोल गर्दै श्री भगवतीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा मिलनले गोल गर्दै श्री भगवतीलाई ३-१ को जित दिलाए ।
जितसँगै श्री भगवतीले ३ अंक जोडेको छ । झम्सिखेलले हारबाट लिगको सुरुआत गरेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।