नेक्सस–संकटा फुटबल एकेडेमीको उदघाटन
काठमाडौं । नेक्सस–संकटा युथ फुटबल एकेडेमीको औपचारिक उदघाटन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र नेक्सस एकेडेमीका प्रिन्सिपल आरबी कटुवालले भक्तपुरको फलासेमा रहेको संकटा क्लबको आफ्नै मैदानमा एक कार्यक्रमकाबीच एकेडेमीको सयुक्तरुपमा उदघाटन गरेका हुन् ।
एन्फाबाट आएको तथा संकटाले उपलब्ध गराएको खेलकुद सामाग्री एकेडेमीका खेलाडीहरुलाई प्रदान गरिएको थियो ।
एकेडेमीमा रहेका दुई टिमबीच मैत्रीपूर्ण खेल पनि भएको थियो ।
एकेडेमीमा २१ जना खेलाडी रहेको संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले जानकारी गराए ।
यस अघि एन्फा, संकटा र नेक्ससबीच एकेडेमी संचालनका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।
एकेडेमीमा रहेका खेलाडीहरुलाई नेक्ससले पढाईको लागि छात्रवृति प्रदान गरेको छ ।
एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार संकटाले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।
एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।












