खप्तड गोल्ड कपका लागि मनाङ धनगढीमा

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कपका लागि मनाङ मस्र्याङदी क्लब धनगढी पुगेको छ ।
फागुन १९ देखि धनगढीमा सुरु हुने प्रतियोगिताका लागि मनाङ मंगलबार बिहान धनगढी पुगेको हो ।
मनाङले प्रतियोगिताको उदघाटन खेलमा फागुन १९ मा भारतको दिल्ली फुटबल क्लबको सामना गर्नेछ ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको फाइनल फागुन २८ मा हुनेछ ।
नकआउट आधारमा खेलाईने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १६ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।












