काठमाडौं । प्रशिक्षक नवीन न्यौपानेले ठीकै भनेका हुन्, आर्मी दोस्रो स्थानमा रह्यो, किनभने शीर्ष चारको होडमा रहेका अन्य टिमले प्रतियोगिताको अन्त्यतिर राम्रो खेल्न खेल्न सकेनन् । यसरी आर्मी सहिद स्मारक लिग ए डिभिजन ०७८ को दोस्रो स्थानमा रह्यो । लिगको पछिल्लो संस्करणमा पनि आर्मी दोस्रोमै थियो । त्यस लिगको अन्तिम खेलमा आर्मीसँग लिग जित्ने अवसर थियो, त्यो पनि मछिन्द्रविरुद्धको खेलमा कम्तीमा हारबाट जोगिए पुग्ने, उसले यति पनि गर्न सकेन् ।
त्यस हारमा आर्मीलाई चोट उत्तिकै परेको थियो, तर टिमको प्रदर्शनमा गर्व पनि थियो । अहिले फेरि आर्मी दोस्रोमै रह्यो, मुख्य कुरा ५० लाख रुपैंया हात पार्न सफल रह्यो । तर यसमा कुनै गर्व रहने छैन्, बरू पीडा नै हुनेछ । एक प्रकारले अरू प्रमुख क्लबले खराव खेलेपछि आर्मीलाई दोस्रो स्थानमा चिठ्ठामा परेकै हो । एउटा अर्को मुख्य कुरा के पनि हो भने तीन विभागीय टिममध्ये पहिलो समय सबैभन्दा अगाडि आर्मी नै । पुलिस र एपीएफको खेल अगाडि आर्मी अब्बल नै छ ।
यी विभागी टिमले सामना गरिरहेको अहिलेको समस्या भनेको विदेश खेलाडी अनुबन्ध गर्न नसक्नु हो । त्यसमध्ये एपीएफले त यसै लिगको बीचतिर विदेशी खेलाडी भित्र्याएर त्यो बाधा पनि तोडिसकेको छ । आर्मीलाई त सायद विदेशी खेलाडी पनि चाहिन्न, कम्तीमा प्रशिक्षक न्यौपाने यस्तै मान्छन् । तर समस्या के भने आर्मी सधैं दोस्रो राम्रो बन्छ, केही ठूलो जित्न अधिकांस समय असफल रहेको छ । आर्मीले पछिल्लो पटक कहिले केही ठूलो जितेको थियो, धेरैलाई सम्झना पनि छैन् ।
अनि अबको केही वर्षमा आर्मीले लगातार दुई पल्ट वर्ष ०७६ र ०७८ मा लिगमा दोस्रो स्थान ओगटेको पनि बिर्सने छन् । आखिरमा सम्झने भनेको सबैले जित्नेलाई नै हो । त्यस अर्थमा आर्मीले भलै यसपल्ट पनि दोस्रो स्थान हात पारेको छ, तर यो पनि एक प्रकारले असफलता नै हो । बरू पुलिस र एपीएफले कहिलेकाहीं चाहिएको बेला निर्णायक खेल्छ । प्रशिक्षक न्यौपानेको नेतृत्वमा आर्मीको प्रदर्शनमा धेरै उतारचढावपूर्ण छैन्, तर टिममा ठ्याक्कै ‘एक्स फ्याटर’ को कमी छ ।
त्यो भनेको आर्मी निर्णायक मोडमा चुक्ने गर्छ, पछाडि रहेको स्थितिलाई निर्णायक रूपमा पल्टाउन सक्दैन् । लिग विजेता मछिन्द्रले ३५ अंक आत्मसात् गर्नु, ठीक त्यही आर्मी २३ अंकमा सीमित हुनुले देखाउँछ, आर्मीका लागि यसपल्टको प्रदर्शनमा खुसी हुने आधार छैन् । यसपल्ट त आर्मी बराबरी विशेषज्ञका रूपमा पनि देखा पर्यो, त्यसैले त उसले कुनै पनि खेल गुमाएन् । तर आठ बराबरीले टिमलाई ठीक स्थान पनि कहाँ पुर्याउन मदत गर्यो र भने ?
फेरि यो अपराजित यात्रामा पनि गर्व कहाँ हुनेछ र भने ? लिगलाई लिएर भन्ने गरिन्छ, तीन खेल बराबरी खेल्नु भन्दा दुईमा हारेर एक खेल जित्नु नै राम्रो हो, बराबरी ‘विनिङ मेन्टालिटी’ नहुनेको प्रतीक हो । त्यसैले नै हो, आर्मीले पुलिस, मछिन्द्र, थ्री स्टार, एपीएफ र मनाङ मस्र्याङ्दी जस्तो टिमविरुद्ध बराबरी खेलेको । त्यति मात्र होइन्, आर्मीले सातदोबाटो, जावलाखेल र हिमालयनविरुद्ध पनि बराबरी नै खेल्यो । यी खुबै महँगा बराबरी रहे ।
आर्मीले खालि एउटै कुरामा ठीक गुनासो गर्न सक्छ र त्यो हो, लिगका क्रममा उसका प्रमुख खेलाडी चोटग्रस्त रहे । आर्मीका लागि यसपल्टको लिगमा सबैभन्दा ठूलो समस्या नै घाइते खेलाडीको रह्यो । आर्मीले सुरुमै नवयुग श्रेष्ठलाई गुमाएको थियो, त्यसपछि पनि प्रमुख खेलाडीलाई नियमित अन्तरमा गुमाउने क्रम तोडिएन् । तर फुटबलमा खेलाडीको चोट कहिले अलग रहन सक्छ र ? फेरि भन्ने पर्छ, आर्मीको टिममा ठ्याक्कै त्यो गुण छैन्, जसले उसलाई लिग उपाधि दिलाओस ।
तथ्यांकमा आर्मी -
कुल खेल : १३
अंक जोडेको : २३
गोल गरेका : १६
गोल खाएको : ८
गोल गर्ने खेलाडी : जर्जप्रिन्स कार्की (४), दिनेश हेमजन (३), सुमन अर्याल (२), जगजित श्रेष्ठ (२), भरत खवास (१), सन्तोष तामाङ (१), टेकबहादुर बुढाथोकी (१), विमल पाण्डे (१), आत्मघाती (१)
विना सब्टिच्युट सबै खेल खेल्ने खेलाडी : –
प्रतियोगितामा उतारेको कुल खेलाडी संख्या : २७
जर्जप्रिन्स कार्की, भरत खवास, युद्ध शाही, विकाश तामाङ, सन्तोष तामाङ, विकेश कुथु, सुमन अर्याल, शेशेहाङ आङदम्बे, दिनेश हेमजन, गौत्तम श्रेष्ठ, जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, टंक वस्नेत, दीपक गुरुङ, विवेक वस्नेत, विमल पाण्डे, सुदील राई, आशिष शाक्य, पद्म तामाङ, सुशान्त चौधरी, राजीव गुरुङ, जितेन्द्र कार्की, सुरज महतो, विश्व चौधरी, ईश्वर बानिया, अनिश श्रेष्ठ र कमलबहादुर थापा ।