काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले जित निकालेको छ ।
सोमबार भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।
खेलको ४५ औं मिनेटमा विश्वासले पेनाल्टीमा गोल गरेका हुन् ।
सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । जसमा विश्वासले सहजै गोल गरे ।
यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । तर, सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
शेर्पाका जीवन गुरुङले पेनाल्टी एरिया भित्र मार्टिनलाई फउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। तर, मार्टिनको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले बचाए ।
यस जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ ।
शेर्पा पाँचौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोले ७ खेलमा ८ अंक जोडेको छ ।
सातदोबाटो आठौं स्थानमा रहेको छ ।
शेर्पाका विश्वास प्लेयर अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर शेर्पाकै दीप चुनिए ।