काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
सुनिलले २१ औं मिनेटमा विशाल राईको फ्री-किकमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।
मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।
यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ ।
मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सहज भने छैन ।