काठमाडौं । इन्टर मिलानका समर्थकको भनाइ हो यो, ‘पानी पर्दा को भाग्छ, त्यो के ठूलो भयो र ? आंधी आउँदा जो सँगै बस्छ, त्यो पो ठूलो ।’
यी समर्थकले घोचपेच गर्न खोजेका खेलाडी हुन्, रोमेलु लुकाकु ।
चेल्सीमा आफू अनुकुल स्थिति नदेखेपछि यी बेल्जियमका खेलाडीले भनेका थिए, ‘म चेल्सीमा खुसी छैन, इन्टर फर्किन चाहन्छु ।’
उनले इन्टरका समर्थकसामु माफि पनि मागेका छन् । तर यसले ती समर्थकको मन फेरिएको छैन् र उल्टै भनेका छन्, हामीलाई लुकाकु चाहिदैन ।
गत सिजन इन्टरले इटालीको सिरी ए जितेको थियो र त्यसका एक खास खेलाडी यिनै लुकाकु थिए । तर लगतै उनले इन्टर छाडे र चेल्सीतर्फ गए ।
त्यति बेला इन्टर समर्थकले उनको खुबै विरोध गरेका थिए र भनेका थिए, यी लुकाकु पैसाको लोभी भए ।
अहिले तिनै लुकाकु इन्टर फर्कन चाहन्छन् । उनको यो भनाइ आएपछि चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेल पनि रिसाएका छन् ।
उनले पनि भनेका छन्, यो यस्तो हल्ला हो, जुन क्लबका लागि आवश्यक छैन ।
उनले सिधा सिधा भनेका छन्, ‘लुकाकुले जे भने, त्यो मलाई मन परेन ।’
अचेल लुकाकु उनका प्रिय खेलाडी पनि हुन छाडेका छन् । त्यसैले पनि लुकाकुलाई के गर्ने र कस्तो गर्ने भएको हो ।
त्यसमाथि अहिले इन्टरका समर्थकको भनाइ अगाडि आएको छ । पक्कै लुकाकुको मन पोलेको हुनु पर्छ ।
–डेली मेलको सहयोगमा ।