काठमाडौं । मछिन्द्रसामु आइतबार एक अर्को ठूलो चुनौती तेर्सिएको छ ।
उपाधिको होडमा आफ्नो खास प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई हराएको एक साता बित्दा नबित्दै मछिन्द्रले पुलिसको सामना गर्नेछ र यो उत्तिकै महत्त्वपूर्ण खेल रहेको छ ।
सहिद स्मारक लिग ०७८ मा यही खेलको नतिजाले एएफसी कप छनोट खेल्ने टिमको निर्णय गर्नेछ ।
मछिन्द्र ६ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ भने मनाङ मस्र्याङ्दी १६ अंकमा शीर्ष स्थानमा छ ।
मछिन्द्रले आफू अनुकुल नतिजा निकाल्न नसके मनाङले एएफसीकप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ, त्यो भनेको स्पष्ट जित ।
यसका लागि धेरै हदसम्म डिफेन्डिङ च्याम्पियन मछिन्द्र लयमा पनि रहेको छ, किनभने टिम अहिले १२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको छ ।
पुलिस भने ६ खेलबाट ६ अंकमा सीमित रहेर दसौ स्थानमा छ । इतिहास पल्टाउने हो भने वर्ष ०७६ को लिगमा मछिन्द्रले रञ्जित धिमालको गोलले पुलिसलाई १–० ले हराएको थियो ।
वर्ष ०७५ मा मछिन्द्रले इतिहासमै सर्वाधिक खराव खेलेको थियो, तर त्यो वर्ष पनि उसले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।
वर्ष ०७० का दुई खेलमध्ये पहिलोमा पुलिस १–० ले विजयी रह्यो भने दोस्रोमा मछिन्द्र २–१ ले । यस्तै वर्ष ०६९ का दुई खेलमा मछिन्द्र सुरुमा २–१ ले जितेको थियो भने दोस्रो खेल १–१ को बराबरीमा टुंगियो ।
वर्ष ०६८ को लिग पुलिस ४–२ ले विजयी रह्यो । यसरी वर्ष ०६८ यताका पाँच संस्करणका सात खेलमा मछिन्द्र तीनमा विजयी रहेको छ भने पुलिस दुईमा । दुई खेल बराबरीमा रहे ।