बेसीसहर । समाज कल्याणले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
शनिबार भएको खेलमा बागमती एफसीलाई २-१ गोल अन्तरले हराउँदै समाज कल्याण अन्तिम आठमा पुगेको हो ।
समाज कल्याणको जितमा योओ कौसीले ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा अनिल राना मगरले गोल गर्दै बागमतीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा चन्दन दासले गोल गर्दै समाजलाई २-१ को जित दिलाए ।
यस खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
आइतबारबाट क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ ।
पहिलो क्वाटरफाइनलमा श्री भगवती युवा क्लबले एमसीटीविरुद्ध खेल्नेछ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा बुद्ध युवा क्लबले लालीगुराँस युवा क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।