नारायण क्षेत्री
पोखरा । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा पराजित भएको हो । ब्रिगेडका शिशिर लेखीले खेलको १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।
मनाङ आदित्य चौधरीले पेनाल्टी बक्समा लेखीलाई लडाएपछि पाएको पेनाल्टी अवसरमा उनले पोस्ट भन्दा माथि प्रहार गरे ।
यस जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ ।
तर, मनाङले एएफसी कपका लागि आइतबार हुने नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेल कुर्नु पर्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने जनाएको छ।
यस्तोमा मछिन्द्रले पुलिसलाई हराएमा मछिन्द्रले एएफसी कप खेल्नेछ । मछिन्द्र पराजित वा बराबरीमा रोकिए मनाङले एएफसी कप छनोट खेल्नेछ ।
शीर्ष स्थानमा उक्लिएको मनाङले ७ खेलमा १६ अंक जोडेको छ ।
एक खेल कम खेलेको मछिन्द्रको १४ अंक रहेको छ ।
ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ । ब्रिगेड १२ औं स्थानमा रहेको छ ।