काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङले स्पष्ट अंकको अग्रता लिएको छ ।
पहिलो पटक घरेलु मैदान पोखरा रंगशालामा पुलिसविरुद्ध शनिबार जित निकालेसँगै मनाङले लिगमा स्पष्ट दुई अंकको अग्रता बनाएको हो ।
उपाधि होडमा रहेको आर्मीले सातदोबाटोसँग र मछिन्द्रले संकटा क्लबसँग बराबरी खेलेसँगै मनाङलाई फाइदा पुगेको हो ।
आर्मीले नवप्रवेशी टिम सातदोबाटोसँग १–१ गोलको बराबरी खेल्यो । प्रशिक्षक मेघराज प्रेरित सातदोबाटो पहिलो सिजनमै लिगमा बलियो देखिएको छ । उसले ठुलो टिममाथि दबाब सिर्जना गर्दै यस सिजन राम्रो पोजिसन हासिल गर्ने संकेत देखाएको छ ।
पाँचौ चरण मछिन्द्रका लागि बिर्सनलायक रह्यो । मछिन्द्रले संकटाविरुद्ध एक समय खेलमा अग्रता समेत बनाएको थियो । तर रेफ्रीले त्यसलाई अफसाइडको दिए । रिप्लेमा त्यो अफसाइड देखिदैन । रेफ्रीको सोही निर्णय मछिन्द्रलाई यस सिजन भारी पर्ने देखिन्छ ।
सातौं चरणको समाप्तिमा अग्रता बनाउने टिम एएफसी कपमा छनोट हुनेछ । सोही कारण पाँचौ चरणमा प्राप्त अग्रता मनाङलाई फाइदाजनक देखिन्छ । मनाङले ऐतिहासिक रुपमा लिग फुटबल काठमाडौं बाहिर पहिलो पटक आयोजना मात्र गरेन, त्यसको सुखद सुरुवात समेत गर्यो ।
घरेलु मैदान पोखरा रंगशालामा मनाङले पुलिसमाथि ३–१ को जित निकाल्यो । मनाङको जितमा नायक रहे, अन्जन विष्ट । उनले दुई गोल गरे । अर्को गोल सुमन लामाको नाममा रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काएका थिए ।
जित सहित मनाङले एएफसी छनोटमा नेपालबाट बलियो दाबेदारिता प्रस्तुत गरेको छ । लिगका सातौं चरणमा शीर्ष स्थानमा रहने टिमलाई एन्फाले एएफसी छनोटमा सिफारिस गर्ने बताएको छ ।