पोखरा । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने । उनले दुई गोल गरे ।
यस्तै निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।
'ए' डिभिजन लिगकै ऐतिहासिक खेलमा मनाङ सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । यस खेल 'ए' लिगको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो ।
खेलको दशौँ मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाए । दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्काको गल्तीमा अन्जानले सहजै गोल गरे । रोशन पेनाल्टी एरिया बाहिर निस्किएर बल क्लियर गर्न खोज्दा बाउन्स हुँदै पेनाल्टी एरियाभित्र गएको बल नियन्त्रणमा लिदै अन्जनले गोल गरेका हुन् ।
खेलको २२ औं मिनेटमा पुजन उपरकोटीको कर्नरमा फ्रान्कलिन क्वेटाको हेडर पोस्टको थोरै माथिबाट बाहिरिएको थियो ।
खेलको ३५ औं मिनेटमा सुमनले पेनाल्टीमा गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए ।
मनाङका डिफेन्डर सरोज योन्जन लामाले निरकुमार राईलाई पेनाल्टी एरियामा लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो । जसमा सुमनले सहजै गोल गरे । सुमनको यो तेस्रो लिग गोल हो ।
३९ औं मिनेटमा पुजनको फ्रि-किकमा मनाङका आफिज ओलावालेको हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।
खेलको ७३ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेम्रुनले पेनाल्टी एरियाको ठिक बाहिर ह्यान्डबल गरेपछि पाएको फ्रि-किकमा अन्जनले सुन्दर गोल गरे ।
त्यसपछि खेलको ८३ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई ३-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका निशानले रिबाउन्ड बलमा गोल गरेका हुन् । आफिजको प्रहार पुलिसका गोलकिपर रोशनले रोकेपछि आएको बलमा उनले गोल गरे ।
यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ ।
दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ ।
पुलिसले ५ खेलमा ५ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट चुनिए ।
इमर्जिङ प्लेयर पुलिसका निरकुमार राई चुनिए ।