काठमाडौं । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।
शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो ।
खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । उनले ३७ औं मिनेटमा गरेको गोल जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो ।
च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गरेका थिए ।

यसघि ३१ औं मिनेटमा जावलाखेलका ओनगना एन जुनियरले पाएको मौकामा च्यासलका किपर अर्पण कार्कीलाई बिट गर्न नसक्दा सुनौलो अवसर खेर गएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले अवसर पाएपनि गोल गर्न भने सफल रहेनन् ।
६७ औं मिनेटमा राजिब लोप्चनको उत्कृष्ट क्रसमा कर्ण लिम्बुले बललाई पोस्टको दिशा दिन नसक्दा च्यासल बराबरी गोल फर्काउन चुक्यो ।
७५ औं मिनेटमा च्यासलक कर्ण लिम्बुले पाएको सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले प्रहर गरेको बल जावलाखेलका किपरले दोस्रो पटकमा नियन्त्रण लिएपछी च्यासल बराबरी गोल गर्न चुकेको थियो ।
खेलको ७७ औं मिनेटमा जावलाखेलका सुरज ज्यु ठकुरीले डी एरिया लाइनबाट प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरीएपछी अग्रता दोब्बर बनाउन चुकेको थियो ।
जावलाखेलका प्रशिक्षकका प्रशिक्षक किशोर केसीले च्यासलविरुद्ध प्राप्त जितले टिममा हौसला बढेको बताए । उनले सिजनको पहिलो जित र गोल निस्कदा टिममा आत्मविश्वास बढेको उल्लेख गरे ।
‘हाम्रो टिमले गोल हान्न सक्छ भन्ने प्रमाणित गरेको छ ।’ उनले भने, ‘अझ केही खेल बाँकी छ । यही टिम रेलिगेशनमा झर्छ भन्न सकिन्न ।’
च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले चोटका कारण टिमले राम्रो खेल्न नसकेको बताए । उनले युवा खेलाडीले समेत अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको उल्लेख गरे ।
साहुखलले नयाँ खेलाडी ल्याउने विषयमा क्लबमा छलफल चलिरहेको बताए ।
च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ ।
च्यासलसंगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ ।