नारायण क्षत्री ।
पोखरा । ऐतिहासिक रुपमा पहिलो पटक पोखरामा आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार (भोली) मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निणर्य गरेको मनाङले जारी लिगको पाँचौ चरण अन्तर्गत पुलिससंग प्रतिस्पर्धा गर्न लागेको हो ।
मनाङले सिजनको ३ खेल पोखरामा खेल्ने छ । पुस १७ मा सातौं चरण अन्तर्गत बिग्रेड ब्वाइज क्लब र आठौं चरण अन्तर्गत २४ गते च्यासल युथ क्लबसंग खेल्ने छ ।
शनिबार दिउँसो २ बजेदेखि सुरु हुने खेलका लागि १ सय र ३ सयको टिकटदर कायम गरिएको छ ।
प्रत्येक खेलमा ५ हजार दर्शकको अपेक्षा गरिएको छ ।
त्यस्तै आयोजक, विपक्षी र अफिसियल सम्पुर्णको खर्च मनाङले व्यहोर्ने छ ।
सहारा क्लब पोखराले आयोजना गर्ने आहा–रारा गोल्डकप फुटबलमा मनाङ र पुलिबीच निकै प्रतिस्पर्धा हुने गर्छ । दुवै टिमले पोखरेली दर्शकको उत्तिकै साथ पाउँदै आएका छन् ।
शुक्रबार पोखरामा आयोजित 'प्रि-म्याच प्रेस कन्फरेन्स'मा बोल्दै मनाङका प्रशिक्षक राजेन्द्र तामाङले पुलिस बलियो प्रतिद्धन्दी भएकाले कम आँक्न नमिल्ने बताए ।
पुलिस कसरी खेल्छ सोही अनुसार आफ्नो टिमले रणनीति बनाउने उनको भनाई छ ।
होम ग्राउण्डमा पोखरेली दर्शकको राम्रो साथ रहने उनको विश्वास व्यक्त गरे । उनले लिगका १४ वटै क्लबले जारी ए डिभिजन लिगमा राम्रो खेलेको बताए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पोखरा रंगशाला मनाङको होम ग्राउण्ड भएकाले पनि आफ्नो टिमले राम्रो खेलका लागि थप मेहनत गर्नुपर्ने बताए ।
उपत्यका बाहिर लिग खेलको सुरुवात गरेर मनाङले राम्रो कार्यको थालनी गरेको भन्दै उनले प्रशंसा समेत गरे ।
मनाङमा विदेशी खेलाडी समेत रहेकाले सशक्त टिमको सामु आफ्ना खेलाडीले पनि उत्तिकै मेहनतका साथ खेल्ने प्रशिक्षक थापाको भनाई छ ।