काठमाडौं । लुम्बिनी प्रदेश वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार प्रदेश नं. २ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
प्रदेश २ ले दिएको १ सय ६९ रनको लक्ष्य लुम्बिनीले २६ दशमलब ५ ओभरमा केवल एक विकेट गुमाएर पुरा गर्यो ।
यस जितसँगै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्ने लुम्बिनी पहिलो टिम बनेको छ ।
लुम्बिनीले ६ मध्ये ५ खेल जितेको हो ।
यता प्रतियोगिता अन्तर्गत प्रदेश २ को पाँच खेलमा तेस्रो पराजय हो । दुई खेल जितेको प्रदेश २ को फाइनल पुग्ने सम्भावना भने अझै कायमै छ ।
प्रदेश २ ले अन्तिम खेल बिहीबार कर्णाली प्रदेशविरुद्ध खेल्नेछ ।
लुम्बिनीलाई फाइनल पुर्याउन प्रदेश २ विरुद्ध आकाश त्रिपाठीले अविजित ६२ रन तथा कप्तान देव खनालले ५६ रनको योगदान गरे ।
लुम्बिनीको एकमात्र विकेट प्रदेश २ का सन्तोष कार्कीले लिए ।
यस अघि ब्याटिङको निम्तो पाएको प्रदेश २ ले केवल ३९ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र १ सय ६८ रन जोड्न सफल भयो ।
प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन जोडे । सन्तोषले ९२ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरेका थिए ।
गुल्सन झाले ३२ तथा आदिल अन्सारीले २२ रनको योगदान गरे ।
लुम्बिनीका लागि वासिर अहमदले सर्वाधिक ५ विकेट हात पार्दा विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट चट्काए ।