काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो जित दर्ता गर्दै फाइनलको सम्भावना बलियो बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।
जितका लागि चाहिएको ९१ रनको लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो ।
सात प्रदेशबीच राउन्ड रोविनको आधारमा भइरहेको प्रतियोगितामा सुदुरपश्चिमले पाँचमध्ये तीन खेल जितेको हो ।
सुदुरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल बागमती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ ।
यता प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ ।
प्रदेश १ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध बिहिबार खेल्नेछ ।
आजको खेलमा सुदुरपश्चिमलाई जित दिलाउन अविजित रहेका वशन्त कार्कीले सर्वाधिक ३७ रन र अर्जून साउदले अविजित ३२ रनको योगदान गरे ।
सुदुरपश्चिमका दिपक टमाटाले १० रन बनाए ।
प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक २ तथा श्रवन किस्कु र अंकित सुवेदीले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ केवल २४ ओभरमा अलआउट हुदै मात्र ९० रन जोडेको थियो ।
प्रदेश १ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रनको योगदान गरे । प्रदेश १ का लागि दोहोरा अंकमा रन बनाउने अंकित एक्ला खेलाडी भए ।
सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे ।
नरेन्द्र साउदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए ।