काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेश गर्ने सम्भावना कायम राखेको छ ।
टियु क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।
सुदुरपश्चिमको चार खेलमा यो दोस्रो जित हो । यता गण्डकीले भने पाँच मध्ये दुई खेलमा जित हात पार्दै फाइनलको सम्भावना जिवित राखेको छ ।
दोस्रो जितका लागि गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदुरपश्चिमले निर्धारित ५० ओभरको अन्तिम चार बल बाँकी छदा ६ विकेट गुमाएर पुरा गर्यो ।
सुदुरपश्चिमलाई जित दिलाउन प्लेयर अफ द म्याच अर्जून साउदले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ७९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।
राहुल भण्डारी ४२ बल खेल्दै ४२ रनमै अविजित रहे भने कप्तान खड्ग बोहोराले ४० रन जोडे ।
गण्डकीका लागि सुवास भण्डारीले सर्वाधिक ३ तथा सुदिप अर्यालले २ र अर्जून कुमालले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा अलआउट हुदै २ सय ९ रन जोडेको थियो ।
गण्डकीका लागि दिपक डुम्रेले सर्वाधिक ५६ रन जोड्दा उत्सव श्रेष्ठले ४० रनको योगदान गरेका थिए ।
सुदुरपश्चिमका लागि कैलाश ऐरीले सर्वाधिक ३ विकेट हात पारे ।
आकाश चन्द र गजेन्द्र बोहोराले समान दुई–दुई विकेट तथा नारायण जोशीले एक विकेट लिएका थिए ।
प्रतियोगिता अन्तर्गत पाँच मध्ये चार खेल जित्दै ८ अंक सहित लुम्बिनी शीर्ष स्थानमा रहेको छ भने प्रदेश नं. १ ले चारमध्ये तीन खेल जित्दै ६ अंकसहित दोस्रो स्थानमा रहेका छ ।
यता सुदुरपश्चिम, बागमती, प्रदेश नं. २ र गण्डकीको समान चार–चार अंक छ । केवल दुई अंक जोडेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।