काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ, भलै यसको एक खेल बुधबार नै भइसक्यो । त्यसमा स्पार्टाक मस्कोले लेगा वार्साको आथित्य गरेको थियो र त्यसमा भ्रमणकारी टिम विजयी रह्यो ।
यो एक खेल किन चाँडै भन्दा मस्कोका दुई टिमले यो प्रतियोगिता खेल्दैछ, बिहीबार समूह ‘ई’ मा लोकोमोटिभ मस्कोले मार्सेको सामना गर्दैछ ।
यो त एउटा संयोग मात्र रह्यो, खासमा यसपल्ट यो प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता हो, यसमा सहभागी हुने टिममा नाटकीय कटौती । केही मिडियाले यसका लागि प्रयोग गरेको ठ्याक्कै शब्द हो, शल्यक्रियाद्वारा फ्यालिएको तौल ।
सन् १९९९ देखि यो प्रतियोगिता सुरु भएको हो । खासमा युरोपा लिग यूईएफएकप र कप विनर्सकपलाई ‘मर्ज’ गरिएको थियो ।
त्यति बेलादेखि प्रतियोगितामा सहभागी हुने टिम बढेको बढ्यै थियो र यसको कारण थियो, युरोपेली फुटबल महासंघ (यूईएफए) आफ्ना सबै सदस्य देशलाई खुसी राख्न चाहन्थ्यो ।
गत वर्षको मात्र आधार मान्ने हो भने एक समय यो प्रतियोगिता खेल्ने टिम पुगेका थिए, २ सय १३ । यसपल्ट भने खालि ४८ देशले मात्र खेलिरहेका छन् ।
यूईएफएले यस्तो गर्न सक्नुको अर्को प्रमुख कारण पनि छ र यो हो, नयाँ प्रतियोगिताका रूपमा युरोपा कन्फ्रेन्सको जन्म । अब यो तेस्रो रोजाईको युरोपेली क्लब प्रतियोगिता भयो । यसपल्ट यस प्रतियोगितामा १ सय १८ टिमले खेल्नेछन् ।
यस्तोमा भन्न कर लाग्छ, यसपल्टको युरोपा लिग नयाँ खालको छ ।