काठमाडौं । चेल्सीका फरवार्ड रोमेलु लुकाकुले आर्सनलविरुद्धको गोल आफ्नो करियरको उत्कृष्ट प्रिमियर लिग गोल भएको बताएका छन् ।
बीइन स्पोर्ट्ससँग कुरा गर्दै लुकाकुले आर्सनलविरुद्धको गोललाई उत्कृष्ट गोलको रुपमा ब्याख्या गरेका हुन् ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको लण्डन डर्बीमा लुकाकुले सुरुआती गोल गरेका थिए । त्यस खेलमा चेल्सीले २-० को जित निकालेको थियो ।
'हो, त्यो मेरो लागि उत्कृष्ट प्रिमियर लिग गोल हो,' लुकाकुले भने, 'तपाईलाई थाहा छ, कति भावनात्मक थियो । यो सबै भन्दा राम्रो छ । गोलको विल्ड अप राम्रो थियो । त्यसैले मेरो लागि उत्कृष्ट छ ।'
खेलको १५ औं मिनेटमा लुकाकुले गोल गरेका थिए । लुकाकुले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् ।
सात वर्षपछि चेल्सी फर्किएका लुकाकुको त्यस गोल चेल्सीका लागि पहिलो गोल समेत हो । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाड्नु अघि उनले १५ खेल खेलेका थिए । तर, गोल गर्न सकेनन् थिएनन् ।